खोटाङ विकासका ज्वलन्त मुद्दामा माननीय आरेन राई को पहलमा उच्चस्तरीय छलफल

Mulbasinews.com

खोटाङको समग्र विकास र जनजीवनसँग जोडिएका आधारभूत समस्याहरू समाधान गर्ने उद्देश्यले प्रतिनिधि सभा सदस्य माननीय आरेन राई को पहलमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
श्रम सस्कृती पार्टी जिल्ला अध्यक्ष प्रताप राइको अनुसार, जिल्लामा देखिएका खानेपानी अभाव, सडक पूर्वाधारको कमजोरी, सुरक्षा व्यवस्थापन तथा विद्यालय भवन निर्माण र मर्मतसम्बन्धी विषयलाई केन्द्रमा राखेर सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरिएको हो। उक्त छलफल सुभम क्याफे मा सम्पन्न भएको थियो।
छलफलमा प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, संघीय खानेपानी कार्यालयका प्रतिनिधि, कोशी प्रदेश खानेपानी विभागका प्रमुख तथा गोर्खा वेलफेयर ट्रस्ट खोटाङका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जिल्लाको विकासमा देखिएका अवरोधहरू पहिचान गर्दै ती समस्याको दिगो समाधानका उपायहरूबारे आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए।
विशेषगरी ग्रामीण भेगमा खानेपानीको अभाव, जीर्ण सडक अवस्था, विद्यालय भवनको कमजोर संरचना र केही क्षेत्रमा सुरक्षासम्बन्धी चुनौतीहरू अझै कायम रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ। सरोकारवालाहरूले समन्वय र सहकार्यको माध्यमबाट यी समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
माननीय आरेन राईले विकासका कामहरूलाई प्रभावकारी र पारदर्शी ढंगले अगाडि बढाउन सबै निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले स्थानीय तह, प्रदेश र संघीय निकायबीचको समन्वय बलियो बनाएर खोटाङको समग्र विकासलाई गति दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उक्त छलफललाई खोटाङ जिल्लाको विकास र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया